काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो र साउदी अरेबियाको क्लब अल नासरबीचको सम्बन्ध फेरि चर्चामा आएको छ।
नयाँ सिजनको तयारी सुरु भइसक्दा पनि रोनाल्डो टोलीसँग नजोडिएपछि उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।
रोनाल्डो र अल नासर दुवैले उनको अनुपस्थितिबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले क्लबको आर्थिक अवस्था, खेलाडी भित्र्याउने प्रक्रियामा आएको अवरोध तथा व्यवस्थापनसँगको असन्तुष्टिलाई सम्भावित कारणका रूपमा उल्लेख गरेका छन्।
रिपोर्टहरूका अनुसार अल नासर अहिले ८० करोड साउदी रियालभन्दा बढी ऋणको दबाबमा छ। वित्तीय समस्याका कारण क्लबलाई नयाँ खेलाडी दर्ता, सरुवा प्रक्रिया र टोली निर्माणमा कठिनाइ भइरहेको दाबी गरिएको छ। केही सञ्चारमाध्यमले खेलाडीहरूको पारिश्रमिक वितरणमा समेत ढिलाइ भएको उल्लेख गरेका छन्।
यही अवस्थाबीच रोनाल्डो किन टोलीको प्रशिक्षणमा फर्किएका छैनन् भन्ने प्रश्न उठिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्लबको खेलकुद परियोजनाको दिशाप्रति असन्तुष्टि, व्यवस्थापनसँगको सम्बन्ध र आर्थिक अनिश्चितता उनको निर्णयसँग जोडिएका प्रमुख विषय हुन सक्छन्।
रोनाल्डो सन् २०२३ मा अल नासरमा आबद्ध भएपछि साउदी प्रो लिगले विश्वव्यापी चर्चा पाएको थियो। त्यसपछि करिम बेन्जेमा, नेमार, सादियो मानेलगायतका चर्चित खेलाडी पनि साउदी क्लबहरूमा पुगेका थिए।
रोनाल्डोले विगतमा पनि टोलीलाई प्रतिस्पर्धी बनाउन उच्चस्तरीय खेलाडी आवश्यक रहेको सार्वजनिक रूपमा बताएका थिए। तर पछिल्ला सरुवा बजारमा अपेक्षाअनुसार नयाँ खेलाडी अनुबन्ध गर्न नसक्दा उनी असन्तुष्ट रहेको चर्चा हुँदै आएको छ।
यसैबीच, क्लबको आर्थिक संकटसँग रोनाल्डोको उच्च पारिश्रमिक पनि जोडिएर चर्चा हुन थालेको छ। विश्वकै सर्वाधिक पारिश्रमिक लिने खेलाडीमध्ये एक रहेका रोनाल्डोसँगको सम्झौताले क्लबमाथि ठूलो आर्थिक दायित्व थपेको विश्लेषण गरिएको छ। त्यसैले केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले वित्तीय दबाब कम गर्न क्लबले उनको भविष्यबारे पनि समीक्षा गर्न सक्ने उल्लेख गरेका छन्।
यद्यपि रोनाल्डोको आगमनपछि अल नासरको अन्तर्राष्ट्रिय ब्रान्ड मूल्य, व्यावसायिक आम्दानी, प्रायोजन सम्झौता र विश्वव्यापी लोकप्रियतामा उल्लेखनीय वृद्धि भएको मानिन्छ। त्यसैले क्लबका लागि उनी आर्थिक बोझ मात्र नभई ठूलो व्यावसायिक सम्पत्ति पनि रहेको विश्लेषण गरिएको छ।
यस कारण अहिलेको मुख्य प्रश्न रोनाल्डो कहिले प्रशिक्षणमा फर्किन्छन् भन्ने मात्र होइन, अल नासरले उनीलाई केन्द्रमा राखेर सुरु गरेको महत्वाकांक्षी परियोजनालाई आर्थिक रूपमा निरन्तरता दिन सक्छ कि सक्दैन भन्ने पनि बनेको छ। यदि क्लबको वित्तीय संकट थप गहिरियो भने त्यसको असर रोनाल्डोको भविष्यसँगै साउदी फुटबलको विश्वव्यापी ‘स्टार प्रोजेक्ट’मै पर्न सक्ने विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।