धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले अघिल्लो आर्थिक वर्षको तुलनामा बितेको आर्थिक वर्ष २०८२/०८३ मा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार गरेको छ। कार्यालयले गत आर्थिक वर्षभरिमा कुल ८ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्षमा समग्र राजस्व असुली दर ८.८१ प्रतिशतले वृद्धि भएको छ।
दुई आर्थिक वर्षको कार्यसम्पादन तुलना गर्दा आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले कुल ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७७.६७ प्रतिशत अर्थात् ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्र सङ्कलन भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्य केही परिमार्जन गरी ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ तोकिएकोमा कुल लक्ष्यको ८६.४८ प्रतिशत अर्थात् ८ अर्ब ३९ करोड ५६ लाख ९ हजार रुपैयाँ राजस्व असुली भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो। कैलाली भन्सारले गत आर्थिक वर्षको चैत महिनामा मात्रै लक्ष्यको १०४.९४ प्रतिशत (९२ करोड २० लाख ६६ हजार रुपैयाँ) राजस्व सङ्कलन गर्न सफल भएको थियो।
सूचना अधिकारी तिमिल्सिनाका अनुसार अमेरिका र इरानबिचको तनाव तथा युद्धका कारण सरकारले चैत महिनामा पेट्रोलियम पदार्थको आयातमा राजस्व छुट दिने निर्णय गरेको थियो, जसका कारण वार्षिक राजस्व असुलीको कुल लक्ष्य भेट्टाउन भने केही कठिनाइ भएको थियो।
कैलाली भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य स्रोत पेट्रोलियम पदार्थ नै रहँदै आएको छ। गत आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्क अनुसार सो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ नै आयात भएको छ।
जसमा डिजेलको आयातबाट ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँ र पेट्रोलबाट १ अर्ब ६५ करोड ७० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। यसै गरी, खाना पकाउने एलपीजी ग्याँस (ीएन् न्बक) को आयातबाट मात्रै ३४ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।