काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ ।
दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।
अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो ।