काठमाडौं ।कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि हालसम्म लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र सात महिला रहेका छन्।प्रहरीले उक्त अवधिमा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइन, पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा छन्। त्यस्तै, २० वटा नाइट्राभेट ट्याब्लेट, आठ वटा स्पास्मो ट्याब्लेट र कोडिनयुक्त सिरपको एक बोतल पनि बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
यसैबीच, प्रहरीले गएराति शिवराज नगरपालिका–२, हल्लानगरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको जनाएको छ।वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।प्रहरीले जिल्लामा लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि कारबाही जारी रहेको जनाएको छ।