काठमाडौँ । बडादसैँअन्तर्गत महानवमीको अवसरमा काठमाडौँस्थित हनुमानढोकाको दसैँघरमा पञ्चबलि दिई नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिएको छ।
आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा दसैँघर, कोत तथा विभिन्न देवी मन्दिर र शक्तिपीठमा विधिपूर्वक पूजा गरी पशुबलि दिने परम्परा रहँदै आएको छ। यस दिन बोका, हाँस, कुखुरा र राँगालगायतको बलि दिएर दुर्गा भवानीको आराधना गरिन्छ। कतिपय शक्तिपीठमा भेडासहित पाँच प्रकारका पशुपक्षीको बलि दिने चलन छ।
महानवमीका अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत तथा देवी स्तोत्र पाठ गर्ने धार्मिक परम्परासमेत रहेको छ। घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने चलन पनि छ। पशुबलि नदिने तथा शाकाहारी भक्तजनले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल चढाएर प्रतीकात्मक बलिसहित पूजा गर्ने गर्छन्। धार्मिक मान्यताअनुसार मार्कण्डेय पुराणमा उल्लेख भएबमोजिम महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्। यही मान्यताका कारण महानवमीलाई दुर्गा भवानीको आराधना र शक्तिको उपासनाका दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ।