काठमाडौँ । संस्कृतिविद् डा. गोविन्द टण्डनले दशैँको धार्मिक तथा सांस्कृतिक महत्व कायम रहे पनि यसको आध्यात्मिक र साधनासँग जोडिएको पक्ष क्रमशः ओझेलमा पर्दै गएको बताएका छन्।
दशैँलाई खाने, पिउने र रमाइलो गर्ने पर्वका रूपमा मात्र बुझ्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले यसको मूल मर्मलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि गरेका टण्डन गुठी संस्थानका अध्यक्षसमेत हुन्। उनले दशैँको सांस्कृतिक पक्ष, धार्मिक परम्परा र बदलिँदो सामाजिक अभ्यासबारे चर्चा गर्दै नवरात्रलाई आत्मचिन्तन, साधना र आत्मशुद्धिको अवसरका रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनका अनुसार दशैँ नेपाली समाजलाई जोड्ने महत्वपूर्ण पर्व हो। नेपालका विभिन्न भौगोलिक क्षेत्र, समुदाय र परम्परामा फरक–फरक ढङ्गले मनाइए पनि यसले आपसी सद्भाव, भाइचारा र एकताको भावना विकास गर्न सहयोग पुर्याएको छ। विदेशमा रहेका नेपालीले समेत दशैँलाई उत्साहका साथ मनाउनुले यसको व्यापकता झल्काउने उनको भनाइ छ। टण्डनले विजयादशमीको राष्ट्रिय महत्व ऐतिहासिक रूपमा पनि स्थापित भएको उल्लेख गरेका छन्। पृथ्वीनारायण शाहले गोरखामा प्रचलित दशैँको परम्परालाई काठमाडौँसम्म विस्तार गरी राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको धारणा छ। अहिले पनि सप्तमीका दिन गोरखाबाट जमरा ल्याएर हनुमानढोकामा विधिपूर्वक भित्र्याउने परम्पराले दशैँको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्ने उनले बताएका छन्।
उनका अनुसार नवरात्रका नौ दिन देवीको आराधना गर्नुको उद्देश्य बाह्य पूजामा मात्र सीमित छैन। मानिसभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता अवगुण हटाउँदै असल आचरण विकास गर्नु पनि साधनाको महत्वपूर्ण पक्ष हो। तर, पछिल्लो समय संस्कृतिको बाहिरी स्वरूप कायम रहे पनि त्यसको दर्शन र जीवनोपयोगी सन्देश बुझ्ने अभ्यास कमजोर हुँदै गएको उनले बताएका छन्।
यसको एउटा कारण विद्यालय तहदेखि नै सांस्कृतिक तथा नैतिक शिक्षालाई पर्याप्त प्राथमिकता नदिनु रहेको टण्डनको भनाइ छ। संस्कृतिभित्र रहेका राम्रा पक्षलाई संरक्षण गर्दै समयअनुसार परिमार्जन गर्नुपर्ने र समाजमा विकृतिका रूपमा देखिएका अभ्यासलाई सुधार गर्दै लैजानुपर्ने उनले बताएका छन्। दशैँको तयारीसँग जोडिएका सामूहिक सरसफाइ, घर लिपपोत, गाउँटोल सफा गर्ने तथा मठमन्दिर, कुवा, पँधेरा र सार्वजनिक स्थलको सरसफाइजस्ता परम्परा पनि क्रमशः हराउँदै गएको उनले उल्लेख गरेका छन्। आधुनिक जीवनशैलीसँगै यस्ता अभ्यासमा परिवर्तन आउनु स्वाभाविक भए पनि तिनले बोकेको सामुदायिक एकता र सहकार्यको भावनालाई जोगाउन आवश्यक रहेको उनको धारणा छ।
पशुबलिको परम्पराबारे चर्चा गर्दै टण्डनले सात्विक, राजसी र तामसी पूजापद्धतिअनुसार धार्मिक अभ्यास फरक रहेको बताएका छन्। उनका अनुसार सात्विक साधनामा मानिसले आफ्नै अज्ञानता, अन्धकार र अवगुणको त्यागलाई बलिका रूपमा बुझ्न सक्छन्। उनले नेपालको इतिहास र मूर्तिकलाको अध्ययनका आधारमा पशुबलिको प्रचलन मल्लकालतिर विकसित भएको आफ्नो धारणा पनि प्रस्तुत गरेका छन्।
पछिल्ला वर्षमा पशुबलिको विकल्पका रूपमा नरिवल, कुभिण्डो तथा अन्य वस्तु चढाउने अभ्यास बढ्दै गएको उल्लेख गर्दै उनले संस्कृति समयसँगै परिमार्जित हुँदै जानुपर्ने बताएका छन्। कुनै समय प्रचलित सतीप्रथाको उदाहरण दिँदै उनले सामाजिक चेतना र सुधारका माध्यमबाट परम्परामा परिवर्तन सम्भव हुने धारणा राखेका छन्।
टण्डनका अनुसार संस्कृति स्थिर भएर बस्ने विषय होइन, यो समय र समाजको आवश्यकताअनुसार विकसित हुँदै जानुपर्छ। मानिस, परिवार र समाजलाई दुःख दिने अभ्यासलाई संस्कृतिको नाममा निरन्तरता दिनुभन्दा त्यसको सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
दशैँले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, अग्रजप्रतिको सम्मान र आपसी सद्भावलाई बलियो बनाउने भएकाले यसको मूल भावना संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन्। संस्कृति जोगाउने नाममा सबै पुराना अभ्यासलाई जस्ताको तस्तै निरन्तरता दिनुभन्दा सकारात्मक पक्षलाई आत्मसात् गर्दै समयसापेक्ष सुधार गर्नु आवश्यक रहेको उनको धारणा छ। दशैँलाई आध्यात्मिक साधना, सामाजिक एकता र सांस्कृतिक गौरवसँग जोडेर मनाउन सके यसले नेपाली समाजलाई अझ एकताबद्ध बनाउन सहयोग पुग्ने टण्डनको विश्वास छ।