काठमाडौँ । नेपाली खानपान स्वादसँगै संस्कृति, परम्परा र जीवनशैलीसँग पनि जोडिएको छ।
चाडपर्वअनुसार फरक–फरक परिकार खाने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ। तर पछिल्लो समय नयाँ परिकारप्रतिको आकर्षण बढ्दै जाँदा परम्परागत तथा रैथाने खानाको प्रयोग घट्दै गएको पाककला क्षेत्रका जानकारहरूको बुझाइ छ। वरिष्ठ सेफ गोविन्दनरिसंह केसीका अनुसार नेपाली खानाका परिकार तत्कालीन मौसम, शारीरिक स्वास्थ्य र जीवनशैलीलाई ध्यानमा राखेर प्रचलनमा आएका हुन्। मासु, सेलरोटी, खिर, क्वाँटी, तरुल र घ्युचाकुजस्ता परिकार नेपाली संस्कार र पर्वसँग जोडिएका उदाहरण हुन्।
नेपालको प्रमुख चाड दसैँमा मासुका परिकार विशेष रूपमा खाने चलन छ। लामो समयपछि भेटिने आफन्तसँगै बसेर मिठोमसिनो खाने र खुसी साटासाट गर्ने अवसरका रूपमा पनि दसैँलाई लिइन्छ। तर खानपानमा स्वादसँगै स्वास्थ्यलाई समेत उत्तिकै महत्त्व दिनुपर्ने केसीको सुझाव छ। उनका अनुसार नेपाली खानाले देशको संस्कृति, आतिथ्यता र जीवनशैली झल्काउँछ। खानाको मुख्य उद्देश्य शरीरलाई आवश्यक ऊर्जा दिनु भएकाले स्वादका लागि मात्र नभई स्वास्थ्यलाई ध्यानमा राखेर सन्तुलित भोजन गर्नुपर्छ। नेपाली खानामा प्रयोग हुने मसला, पकाउने शैली र स्थानीय सामग्रीले यसको स्वाद तथा विशेषता बढाउने उनको भनाइ छ।
शुद्ध तोरीको तेल, सिलौटामा पिसेको लसुन–अदुवा, जिरा–धनियाँ, शुद्ध घिउ तथा परम्परागत पकाउने विधिले नेपाली खानालाई विशिष्ट स्वाद दिने केसी बताउँछन्। नेपाली रैथाने खानाको स्वाद र विशेषता विश्वका अन्य खानासँग तुलना गर्न सकिने उनको धारणा छ। दसैँमा मासु खाँदा एकैपटक धेरै पकाएर लामो समयसम्म राख्नुभन्दा आवश्यकताअनुसार तयार पारेर खानु उपयुक्त हुने उनको सुझाव छ। पहिलेको तुलनामा अहिले खानाको भण्डारण र स्वच्छतामा थप ध्यान दिनुपर्ने भएकाले पकाएको मासु सुरक्षित रूपमा फ्रिजमा राख्न र खानुअघि राम्ररी तताउन आवश्यक हुन्छ।
मासुसँगै सागसब्जी, हरियो तरकारी र सलादलाई पनि भोजनमा समावेश गर्नुपर्ने केसी बताउँछन्। अत्यधिक चिल्लो र तारेका परिकारभन्दा स्वच्छ तथा राम्रोसँग पाकेको खाना रोज्न, एकैपटक धेरै नखान र नियमित हिँडडुल तथा शारीरिक व्यायाममा ध्यान दिन उनले सुझाव दिएका छन्। नेपाली खानाको मौलिक स्वाद र परम्परा जोगाउँदै स्वास्थ्यप्रति सचेत हुन सके खानपानले स्वादसँगै संस्कृति र पहिचानलाई पनि निरन्तरता दिन सक्ने देखिन्छ।