काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई प्रसूतिको क्रममा जटिलता देखिएपछि हवाई उद्धार गरी सुर्खेत लगिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत किशोरीको उद्धार गरिएको हो। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको मन्त्रालयले जनाएको छ। परियोजनाले आपत्कालीन अवस्थामा सहयोग आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारमार्फत सहयोग गर्दै आएको छ।