काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत निष्कासन गर्न लागेको जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ऋणपत्रका लागि असार २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमसम्म, ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सक्नेछन्। ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा निर्धारण हुनेछ।
यस ऋणपत्रको अवधि एक वर्ष रहनेछ। साँवा रकम २०८४ असार २४ गते फिर्ता गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। सहभागी संस्थाहरूले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था मिलाइएको छ। प्राप्त बोलपत्रमध्ये सबैभन्दा कम ब्याजदरबाट क्रमशः छनोट गर्दै आह्वान गरिएको कुल रकम बराबर पुग्ने बिन्दुमा एकल ब्याजदर कायम गरी ऋणपत्र बिक्री गरिनेछ। राष्ट्र बैंकका अनुसार यो ऋणपत्र बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा प्रयोग गर्न सक्नेछन्।
यद्यपि, यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपात (एनएलए) गणनामा भने समावेश गर्न सकिनेछ।राष्ट्र बैंकले स्वीकृत बोल रकम भुक्तानीका लागि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात हुनुपर्ने स्पष्ट पारेको छ। यदि खातामा पर्याप्त रकम नभएका कारण स्वीकृत बोल रद्द भएमा सम्बन्धित संस्थालाई स्वीकृत रकमको २.५० प्रतिशत जरिवाना गरिनेछ। साथै, त्यस्तो संस्था आगामी ६ महिनासम्म राष्ट्र बैंकद्वारा गरिने कुनै पनि बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था पनि गरिएको छ।