काठमाडौँ । भोजपुरका पहाडी खेतबारीमा धान पाकेर पहेँलपुर बनेका छन् ।
लहलहाउँदा सुनौला धानका बालाले गाउँका खेत र डाँडापाखा आकर्षक देखिएका छन् । दसैँको रमझम सकिएसँगै अब किसानलाई पाकेको धान काटेर भित्र्याउने चटारो सुरु हुने भएको छ । धान भित्र्याउने मुख्य समयमै दसैँ परेपछि किसानहरू चाडपर्व मनाउन व्यस्त भएका थिए । टीका, जमरा र पारिवारिक भेटघाट सकिएसँगै उनीहरू खेतबारीमा फर्किएर धान काट्ने र थन्क्याउने तयारीमा जुट्नेछन् । भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ सकिएपछि किसान धान काट्ने र भण्डारण गर्ने काममा लाग्नेछन् ।
कात्तिक लागेसँगै पहाडी क्षेत्रको प्रमुख खाद्यान्न बाली धान पाकेर खेतहरू पहेँलपुर बनेका छन् । यस वर्ष मौसम अनुकूल रहनु, समयमै मनसुन हुनु र पर्याप्त सिँचाइको सुविधा उपलब्ध हुनुले धान उत्पादन राम्रो हुने अपेक्षा किसानले गरेका छन् । भोजपुर नगरपालिका–५ का किसान भीमसेन फुयालले पाकेको धानले गाउँघरको सौन्दर्य नै बढाएको बताए । उनका अनुसार चाडपर्व सकिएलगत्तै धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र अन्न भण्डारण गर्ने काममा किसान व्यस्त हुनेछन् ।
भोजपुरका ग्रामीण क्षेत्रमा धान भित्र्याउन अझै पनि परम्परागत ‘अर्मपर्म’ प्रथा प्रचलनमा छ । विशेषगरी भिराला खेतमा आधुनिक कृषि उपकरण प्रयोग गर्न कठिन हुने भएकाले परिवारका सदस्य र छिमेकी मिलेर एकअर्काको खेतमा काम सघाउने गरिन्छ । वर्षभरिका लागि आवश्यक खाद्यान्न घरमा भित्र्याउन पाए ठूलो राहत मिल्ने किसान फुयाल बताउँछन् । त्यसैले दसैँको खुसीयालीपछि भोजपुरका किसानको ध्यान पाकेको धान सुरक्षित रूपमा भित्र्याउन केन्द्रित हुने भएको छ ।