काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका प्रवेश गर्ने प्रमुख सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ ।
दसैँ बिदा सकिएसँगै काम, अध्ययन तथा अन्य प्रयोजनका लागि काठमाडौँ फर्किने यात्रुको सङ्ख्या बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती र दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेसँगै सडकमा आवागमन सहज बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको जनाएको छ । सवारी चापलाई व्यवस्थित गर्दै यात्रालाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिइएको छ ।
उपत्यकाका प्रमुख नाकाबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् । यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए । दसैँको बिदा सकिएसँगै उनीहरू पुनः उपत्यका फर्किन थालेका छन् । यात्रुको चाप अझै बढ्न सक्ने भएकाले प्रमुख सडकखण्डमा यात्रा गर्दा ट्राफिक अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ ।