काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य गर्न सकिने भए पनि तत्काल पार्टी एकता भने सम्भव नरहेको बताएका छन् ।
शनिबार काठमाडौँको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय जागरण अभियानको शुभारम्भपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले दुवै दलको राजनीतिक दृष्टिकोण र कार्यशैलीमा भिन्नता रहेको बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको र सुशासन, सामाजिक न्याय तथा समृद्धिलाई प्राथमिकतामा राखेको दाबी गरे । एमालेको राजनीतिक चरित्र फरक रहेको आरोप लगाउँदै उनले तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारे ।
प्रचण्डका अनुसार तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । उनले यस प्रक्रियालाई पार्टी विघटन नभई रूपान्तरणका रूपमा व्याख्या गर्दै विभिन्न घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने बताए । नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले यसअघि नै सचेत गराएको पनि प्रचण्डले उल्लेख गरे । संसद्का ठूला दल मिलेर सरकार सञ्चालन गर्ने अभ्यासप्रति असन्तुष्टि जनाउँदै उनले आफूहरू भ्रष्टाचारविरुद्धको अभियानमा प्रतिबद्ध रहेको बताए ।
उनले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यकताअनुसार विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्न सकिने धारणा राखे । तर, राष्ट्रिय मुद्दामा सहकार्य गर्नु र पार्टी एकता गर्नु फरक विषय भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठ्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले विगतमा पनि यस्ता आशंका व्यक्त हुने गरेको बताए । आलोचना र निराशाजनक धारणामा अल्झिनुभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रभाव बढिरहेका बेला कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि उठेका प्रश्नलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक आन्दोलनको अनुभवसमेत स्मरण गरेका थिए ।