काठमाडौँ । चिसो मौसम सुरु भएसँगै म्याग्दीका हिमाली क्षेत्रमा रहेका घुम्ती गोठ बेँसीतर्फ झर्न थालेका छन् ।
वर्षायाममा हिमालको फेदीसम्म पुगेर पशु चराउँदै आएका किसान अहिले गाईभैँसी तथा भेडाबाख्रासहित गाउँनजिकका खर्कमा फर्किन थालेका हुन् । म्याग्दीका विभिन्न गाउँमा पुस्तौँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली स्थानीय पशुपालन र कृषि जीवनशैलीको महत्त्वपूर्ण हिस्सा हो । हिमाली क्षेत्रमा पाइने पोषिलो घाँस खुवाउन गर्मीयाममा पशुचौपायालाई लेकमा लैजाने र जाडो बढेसँगै बेँसी झार्ने परम्परा यहाँ अझै कायम छ ।
धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना पशु चराएपछि गोठ गाउँनजिक ल्याएको बताए । वैदेशिक रोजगारीबाट फर्किएर ३५ वटा भैँसी पालिरहेका उनले अहिले मकै भित्र्याइएको बारीमा गोठ राखेका छन् । कोदो भित्र्याएपछि मङ्सिरमा गोठलाई बेँसीका फाँटमा सार्ने चलन रहेको उनको भनाइ छ । लेकबाट बेँसी झर्ने क्रममा गोठालाले गाईभैँसी, गोरु तथा भेडाबाख्राको बथानसँगै आवश्यक खाद्यान्न र बन्दोबस्तीका सामान पनि बोकेर हिँड्ने गर्छन् । महिनौँसम्म घरपरिवारबाट टाढा बसेर पशुपालन गर्ने गोठाला गाउँ फर्किएपछि मात्रै परिवारसँग भेटघाट गर्न पाउँछन् ।
गुर्जाका राजिन छन्त्यालका अनुसार गोठाला र पशुचौपाया गाउँ फर्किन थालेपछि गाउँनजिकका पाखाबारीमा चहलपहल बढेको छ । गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरिरहेको दृश्यले ग्रामीण जीवनको पुरानो परम्परालाई अझै जीवन्त बनाएको छ । धौलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालका अनुसार हिमाली बुकीको पोषिलो घाँस खाएका पशु स्वस्थ र बलिया हुनुका साथै दूध उत्पादनमा पनि राम्रो प्रभाव पर्छ । खर्कमा ढुङ्गाको पर्खालमाथि काठ र निगाला राखेर त्यसमाथि त्रिपाल वा पाल ओढाई अस्थायी गोठ बनाउने गरिन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा यस्तो पशुपालन परम्परा प्रचलित छ ।
धौलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङका किसानले घुम्ती गोठमार्फत पशुपालन गर्दै आएका छन् । रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानी तथा अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेमा पनि यो परम्परा कायम छ । घुम्ती गोठको सम्बन्ध पशुपालनमा मात्र सीमित छैन । बेँसीका खेतबारीमा गोठ राख्दा पशुचौपायाको मलबाट माटोको उर्वराशक्ति बढाउनसमेत सहयोग पुग्छ । यसरी पशुपालन र खेतीपातीलाई एकअर्कासँग जोडेर स्थानीय किसानले परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिँदै आएका छन् ।
यद्यपि, पछिल्लो समय युवा पुस्तामा पशुपालनप्रतिको आकर्षण घट्दै जानु र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा आधारित जीवनशैली चुनौतीमा परेको छ । धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीका अनुसार पुराना पुस्ताबाट हस्तान्तरण हुँदै आएको सीप, स्थानीय चरन क्षेत्र र परम्परागत पशुपालन प्रणालीको संरक्षण गर्न कठिन हुँदै गएको छ । लेक र बेँसीबीचको मौसमी यात्रासँग जोडिएको घुम्ती गोठ प्रणाली म्याग्दीको मौलिक पहिचानसमेत हो । यसलाई निरन्तरता दिन स्थानीय ज्ञान र सीपको संरक्षणसँगै नयाँ पुस्तालाई पशुपालनतर्फ आकर्षित गर्नु आवश्यक देखिन्छ ।