काठमाडौँ । ललितपुरको इमाडोलमा बाटो हिँडिरहेकी युवतीलाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पक्राउ परेका भट्टविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भएको छ। उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गर्न नहुने कसुरअन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सिंहदरवारस्थित रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय शिक्षा अधिकृत भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। ललितपुरको इमाडोलस्थित सार्वजनिक सडकमा एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गरी उनले अचानक आफ्नो कपडा खोलेर गोप्य अङ्ग देखाउँदै अश्लील व्यवहार प्रदर्शन गरेका थिए।
आफूमाथि अचानक दुव्र्यवहार भएपछि पीडित युवतीले डर नमानी साहसका साथ ती पुरुषको हर्कतको भिडियो खिचेकी थिइन् र उनलाइ पछ्याउने समेत गरेकी थिइन्। पीडित युवतीले आइतबार साँझ साढे ६ बजेतिर सामाजिक सञ्जाल टिकटकमा उक्त भिडियो अपलोड गर्दै दोषीलाई पक्राउ गर्न सार्वजनिक आग्रह गरेकी थिइन्।
भिडियो भाइरल भएसँगै व्यापक जनदबाब र प्रहरी वृत्त सातदोबाटोको सक्रियतापछि भट्टलाई नियन्त्रणमा लिइएको थियो। प्रशासनबाट ५ दिनको म्याद थप भएसँगै प्रहरीले घटनाको थप प्रमाण जुटाउन र कानुनी प्रक्रिया बलियो बनाउन अनुसन्धानलाई तीव्र पारेको छ।
सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत सुरेन्द्र भट्ट पक्राउ