ललितपुर । ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा बाटो हिँडिरहेकी महिला (युवती) लाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी अश्लील हर्कत गर्ने बैतडीका सुरेन्द्र भट्ट पक्राउ परेका छन्। पीडित महिलाले आफूमाथि भएको उक्त दुर्व्यवहारको भिडियो बनाएर सामाजिक सञ्जाल (टिकटक) मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ५५ वर्षीय भट्ट निजामती कर्मचारी अर्थात् सरकारी अधिकृत रहेको पुष्टि भएको छ। उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा ’शिक्षा अधिकृत’ को रूपमा कार्यरत रहेको खुलेको हो। स्थायी घर बैतडीको पाटन नगरपालिका वडा नं. ०७ भएका भट्ट हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ मा बस्दै आएका थिए।
बाटोमा एक्लै हिँडिरहेकी महिलालाई बीच सडकमै अश्लील व्यवहार देखाएर फरार भएका भट्टको खोजीका लागि भिडियो र सीसीटीभी फुटेजको आधारमा प्रहरी टोली परिचालन गरिएको थाहा पाएपछि उनी पक्राउ परेका हुन्। पक्राउ परेका शिक्षा अधिकृत भट्टलाई अहिले प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखिएको छ।
सार्वजनिक स्थलमा यौनजन्य दुव्र्यवहार र अश्लील हर्कत गरेको कसुरमा उनीमाथि म्याद थप गरी कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।
के थियो घटना?
ललितपुरको इमाडोल क्षेत्रमा साँझपख एक युवती बाटोमा एक्लै हिँडिरहेको अवस्थामा ती पुरुषले हठात् बीच सडकमै आफ्नो कपडा खोलेर अश्लील व्यवहार र गोप्य अङ्ग प्रदर्शन गरेका थिए। अकस्मात् आइपरेको यो दुर्व्यवहारजस्ता घटनामा पनि युवतीले हिम्मत नहारी प्रतिकार गर्दै गुहार मागेकी थिइन् र भट्टको हर्कतको भिडियो समेत बनाएकी थिइन्।
युवतीको गुहार सुनेर आएका अर्का एक युवाले ती अधवैँसे पुरुषलाई समातेका थिए। त्यसपछि पीडित युवतीले माफी माग्न भनेपछि भट्टले खुट्टा ढोगेका थिए। सोही घटनाको भिडियो पीडित युवतीले आइतबार साँझ टिकटिकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ र लाखौँले हेरिसकेका छन्।
टिकटिकमा भिडियो पोस्ट गर्दै पीडित युवतीले आफ्नो पीडा र सामाजिक सोच माथि प्रश्न उठाएकी छन्। उनले लेखेकी छन् ।
“आज म एक्लै बाटो हिँडिरहेकी थिएँ। मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ। तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार ग¥यो। यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ। आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ।“