काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र क्रमिक रूपमा सुधारोन्मुख रहेको जनाएको छ।
विश्वव्यापी राजनीतिक तनाव र आर्थिक अनिश्चितताबीच पनि नेपालको समष्टिगत आर्थिक अवस्था सकारात्मक दिशामा अघि बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति नियन्त्रणभित्रै रहेको छ। सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित भएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा बाह्य क्षेत्र पनि सुदृढ अवस्थामा रहेको उल्लेख छ। विदेशी विनिमय सञ्चिति थप मजबुत बन्दै गएको र हालको सञ्चितिले करिब १९.२ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ।
विश्व बजारमा बढ्दो अनिश्चितता, भूराजनीतिक तनाव तथा आर्थिक चुनौतीका बाबजुद नेपालको बाह्य क्षेत्र सन्तुलित रहेको र प्रमुख आर्थिक सूचकहरू सुधारोन्मुख देखिएको प्रतिवेदनको निष्कर्ष छ। राष्ट्र बैंकले मूल्य स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यअनुसार वित्तीय क्षेत्रका अधिकांश सूचकमा सुधार देखिएको जनाएको छ। आगामी दिनमा उत्पादन वृद्धि, लगानी विस्तार तथा समग्र आर्थिक गतिविधिलाई थप गति दिने गरी मौद्रिक व्यवस्थापनलाई निरन्तरता दिइने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।