काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुन लागेको पाँचौँ संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी हुन आइतबार न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । असार २३ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त उच्चस्तरीय सम्मेलनमा भाग लिन आईजिपी त्यसतर्फ लागेका छन् ।
आईजीपी कार्कीसँगै उक्त महत्त्वपूर्ण समिटमा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलसमेत न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्।
पाँचौँ राष्ट्रसंघीय प्रहरी प्रमुख सम्मेलनमा विश्वव्यापी सुरक्षा र शान्ति स्थापनाका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भविष्य, नयाँ प्रविधिको उच्चतम् प्रयोग, अन्तर्राष्ट्रिय सहयोगको सुदृढीकरण, भाषा तालिममार्फत राष्ट्रसंघीय शान्ति स्थापना कार्यको सुदृढीकरण, लैङ्गिक उत्तरदायी प्रहरी कार्यका लागि उच्चस्तरीय सञ्जाल लगाएतका विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल हुने कार्यक्रम रहेको नेपाल प्रहरीले जनाएको छ ।
समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीहरूका साथै संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम समेत तय भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक कार्की भ्रमण पूरा गरी स्वदेश नफर्किएसम्मका लागि नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।