काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि कडा आलोचना गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता स्पष्ट रूपमा देखेको बताए। उनका अनुसार असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर ज्यान जोगाइदिन आग्रह गरिरहेका थिए। एक जना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहेका भए पनि समयमै उद्धार हुन नसक्दा उनीहरूले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो।सांसद शाहीले भने,मैले कर्णालीमा दुर्घटना मात्र देखेको छैन, सरकारको असफलता र गैरजिम्मेवारी पनि देखेको छु।
नदीमा बस खस्दा मानिसहरू जीवन बचाइदिन गुहार गरिरहेका थिए, तर उद्धार टोली समयमै पुगेन। उनले दुर्घटनाको समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग गरिएको दाबी गरे। उद्धार टोलीसँग आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्दै उनले सुर्खेतबाट तत्काल हेलिकप्टर परिचालन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताए। मैले तत्काल सम्बन्धित निकायमा फोन गरेको थिएँ। उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा हेलिकप्टर पठाउने क्षमता समेत सरकारसँग रहेन। आखिर सरकार कसका लागि काम गरिरहेको छरुू भन्दै उनले प्रश्न उठाए। सांसद शाहीले कर्णालीका नागरिकप्रति राज्यले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै कर्णाली पनि नेपालको अभिन्न भूभाग भएकाले त्यहाँका नागरिकले समान सेवा र संरक्षण पाउनुपर्नेमा जोड दिए।