काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भएको प्रि–क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
खेलको ३६औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० पुर्याए। पहिलो हाफ सकिनुअघि ४२औं मिनेटमा जुलियन क्विन्योनेसले गोल फर्काउँदै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरे र स्कोर २–१ बनाए। दोस्रो हाफको ५४औं मिनेटमा इंग्ल्यान्डका जारेल क्वान्सा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो।
संख्यात्मक रूपमा कमजोर बने पनि इंग्ल्यान्डले ६०औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत अग्रता ३–१ मा विस्तार गर्यो। मेक्सिकोले ६९औं मिनेटमा राउल जिमिनेजको पेनाल्टी गोलबाट अन्तर ३–२ मा झारे पनि त्यसपछि थप गोल निस्कन सकेन। बाँकी समयमा इंग्ल्यान्डले आफ्नो अग्रता जोगाउँदै क्वाटरफाइनल यात्रा तय गर्यो। यस नतिजासँगै इंग्ल्यान्ड उपाधि यात्रालाई निरन्तरता दिन सफल भएको छ भने घरेलु टोली मेक्सिकोको विश्वकप अभियान अन्तिम १६ बाटै टुंगिएको छ।