काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा सुरु हुनेछ। शृङ्खलाको आफ्नो दोस्रो खेलमा मैदान उत्रिन लागेको नेपालले यसअघि आइतबार भएको खेलमा क्यानडालाई पराजित गरेको थियो। उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतकीय पारी खेलेका थिए। सोही जितपछि नेपालले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। यसअघि शुक्रबार भएको खेलमा ओमानले क्यानडालाई हराएको थियो। ओमानको उक्त जितसँगै लिग–२ को शीर्ष चारमा रहेर सिधै विश्वकप छनोटको बाटो तय गर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित बाँकी खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ भने ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ। शीर्ष चारमा स्थान बनाउन नसकेपछि नेपालले अब एकदिवसीय विश्वकप छनोटको यात्रा अघि बढाउन प्लेअफ खेल्नुपर्नेछ। उक्त प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।
लिग–२ को बाँकी खेलपछि नेपालले पाँचौँ वा छैटौँ स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याउन सक्नेछ। यद्यपि, ओडीआई मान्यता कायम राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्पष्ट व्यवस्था सार्वजनिक नभएकाले नेपालको अवस्थाबारे थप स्पष्टता आवश्यक छ। त्यसैले ओमानविरुद्धको आजको खेल नेपालका लागि अंकतालिकामा सुधार गर्ने र आगामी प्रतिस्पर्धाका लागि मनोबल बलियो बनाउने महत्त्वपूर्ण अवसरका रूपमा रहनेछ।