काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १४ जिल्ला भएर बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
मुख्य नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले उल्लेख गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ । यसैगरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको बुलेटिनमा जनाइएको छ ।
भोलि र पर्सिको मौसम पूर्वानुमान हेर्दा बाढीको जोखिम देशको पूर्वी र मध्य भागतिर सर्ने देखिएको छ । महाशाखाका अनुसार भोलि असार २३ गते र पर्सि असार २४ गते कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ ।
नदी तटीय क्षेत्र र जोखिमका आसपास रहने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।