महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले साढे ४ क्विन्टलभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा र मालवाहक ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नं. ०६ भकुण्डे बस्ने मान बहादुर नेगीका छोरा २१ वर्षका विपस नेगी र मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नं. ०१ क्यूरेनी बस्ने झिल्के थिङका छोरा२४ वर्षका साधुराम थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महोत्तरीको एकडारा गाउँपालिका र महोत्तरी गाउँपालिकाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाही र खानतलासीका क्रममा कुल ४७७.१०५ किलोग्राम (४७७ किलो १०५ ग्राम) गाँजा र ना ३ ख ६५९२ नम्बरको ट्रक बरामद गरिएको हो।
प्रहरीका अनुसार मिति २०८३ साल असार २० गते राति अस्ताउँदो बिहान करिब ०१ः०० बजेको समयमा महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ०१ भटौलियामा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले शङ्कास्पद अवस्थामा रहेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई खानतलासी गरेको थियो। उक्त क्रममा ट्रकबाट प्लास्टिकले बेरिएको ३ वटा पोकामा रहेको ४० किलो ३६० ग्राम गाँजा बरामद गरी चालक र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयमा बुझाइएका प्रतिवादीहरूमाथि प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरूले उक्त गाँजा धनकुटाको भेंडेटारबाट लोड गरी महोत्तरीको एक नाम थाहा नभएको स्थानमा झारिसकेको र बाँकी अंश मात्र ट्रकमा रहेको खुलाएका थिए। उनीहरूको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्च लाल गोलेको कमाण्डमा विशेष अनुसन्धान टोली परिचालन गरियो।
टोलीले खोजी गर्दै जाँदा असार २० गते बेलुका महोत्तरी गाउँपालिका वडा नं. ४ रानी रतबडास्थित सडक खण्डमा ३५ वटा प्लास्टिकका पोकाहरू झारिएको सुराक फेला पार्यो। सोही सुराकका आधारमा असार २१ गते बिहान ०६ः०० बजेदेखि उक्त गाउँमा विशेष ’सर्च अपरेसन’ चलाइएको थियो।
सोही क्रममा कतारमा रहेका मनसिफ पासवानका छोरा वर्ष ४५ को सिया शरण पासवान र उनकी श्रीमती लिलम देवीको घरमा खानतलासी गर्न जाँदा घरका मानिसहरू ढोकामा ताला लगाएर भागेको अवस्थामा भेटिएका थिए। स्थानीय तहका प्रतिनिधिहरूको रोहवरमा ताला खोली रीतपूर्वक घर खानतलासी गर्दा खाटमुनि कलेजो रङको साडीले छोपी लुकाइराखेको अवस्थामा ३५ वटा प्लास्टिकका पोकाहरू फेला परे। उक्त पोकाहरू जोख्दा थप ४३६.७४५ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका दुवै प्रतिवादीहरूलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा बुझाई लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक पञ्च लाल गोलेले जानकारी दिए ।