काठमाडौँ । दाङको सम्राट सिमेन्ट प्रा.लि. मा विगत तीन दिनदेखि विभिन्न माग राख्दै कार्यरत कर्मचारीहरूले गर्दै आएको आन्दोलन आज आइतबार (असार २१ गते) देखि पूर्ण रूपमा अन्त्य भएको छ। कर्मचारीहरूले सेवा(सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका थिए । आफुले राखेका मागमा कम्पनीले सहमति जनाएपछि ताला खोलिएको कर्मचारीले जनाएका छन् ।
कम्पनीको प्रशासन प्रतिनिधि, कर्मचारी प्रतिनिधि र स्थानीय रोहवरबीचमा कर्मचारीका सम्पूर्ण मागहरू सम्बोधन गर्ने गरी सहमति भएको हो।
कम्पनी र कर्मचारीका विचमा विभिन्न ६ बुदाँमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्मचारीले बताएका छन्। कर्मचारीले एक सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
कम्पनी र कर्मचारीका विचमा साउनदेखि तलब वृद्धि, समायोजन र स्तरवृद्धि गर्ने, सेवा सुविधा कटौती नहुने, भोजन र आवासमा सुधार, सामाजिक सुरक्षा कोष र कम्पनी प्रशासनमा परिवर्तन, १२ घण्टे कार्यसमय अन्त्य, श्रम ऐन अनुसार ८ घण्टा मात्रै काम, स्थानीय युवा, ज्यालादारी र आन्तरिक कर्मचारीलाई प्राथमिकता दिने विषयमा सहमति भएको जनाएको छ ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को श्रावण महिनादेखि लागू हुने गरी सम्पूर्ण कर्मचारीहरूको उचित तथा पूर्ण मूल्याङ्कन गरेर तलब वृद्धि तथा समायोजन गरिनेछ। यसैगरी, लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीहरूको कामको आधारमा पुनः मूल्याङ्कन गरी स्तरवृद्धि गरिने सहमति भएको छ।

