काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका धनबहादुर घर्तीमगरलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने घर्तीमगर कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ निवासी अन्दाजी ४५ वर्षीय रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। प्रहरीका अनुसार कैलाली जिल्ला अदालतले विसं २०५६ चैत १३ गते घर्तीमगरलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा उनी विसं २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई शुक्रबार नै कैलाली जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।