काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्याण्डले अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक देखिएको स्विट्जरल्याण्डले १०औँ मिनेटमै अग्रता बनाएको थियो। टोलीका स्ट्राइकर ब्रील एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती बढत दिलाएका हुन्। पहिलो हाफमा त्यही अग्रता कायम राखेको स्विट्जरल्याण्डले दोस्रो हाफको सुरुमै अर्को गोल थप्यो। खेलको ४६औँ मिनेटमा ड्यान एनडोएले गोल गर्दै टोलीको अग्रता २–० पुर्याए। त्यसपछि अल्जेरियाले खेलमा फर्कने प्रयास गरे पनि स्विट्जरल्याण्डको सुदृढ रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। यस हारसँगै अल्जेरियाको विश्वकप यात्रा राउन्ड अफ ३२ मै समाप्त भएको छ। विजयी स्विट्जरल्याण्डले अब क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।