काठमाडौँ । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ का ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार हेटौँडा उपमहानगरपालिका–५ का ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गरेका थिए। आक्रमणबाट तामाङ गम्भीर घाइते भएका छन्।
घटनापछि फरार भएका नेपालीको खोजीका लागि वडा प्रहरी कार्यालय हेटौँडाको टोली तत्काल परिचालन गरिएको थियो। प्राप्त सूचना र अनुसन्धानका आधारमा प्रहरीले बुधबार बिहान करिब २ बजे उनलाई आफ्नै घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। पक्राउका क्रममा घटनामा प्रयोग गरिएको धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति प्राप्त भइसकेको र सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।