काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको धमिलोपन अत्यधिक बढेपछि प्रशोधन प्रक्रिया प्रभावित भएको छ। त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानीको प्रवाह अस्थायी रूपमा रोकिएको उनले जानकारी दिए।
प्रवक्ता चन्दले मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा पानी आपूर्ति सुरु गरिने बताए।
उनका अनुसार निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौँ उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्नेछ।