दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा दार्चुलामा झोलुङ्गे पुल निमार्ण गरिएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङस्थित काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल ८५ दिनमै सम्पन्न भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले मङ्गलबार एक समारोहका बीच पुलको उद्घाटन गरे ।
पुल बनेपछि काठादुम्लिङबाट कञ्जु क्षेत्र जान सजिलो भएको भन्दै स्थानीय हर्षित छन् । गत चैत २४ गते शिलान्यास गरिएको उक्त पुल साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत निर्माण गरिएको हो ।
पुल निर्माणमा ४०० भन्दा बढी स्वयंसेवीले प्रत्यक्ष श्रमदान गरेका थिए । निर्माण कार्यमा खटिएका नवीन राईका अनुसार निर्धारित समयभित्रै काम सकेर पुल हस्तान्तरण गरिएको हो ।
व्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले यसअघि बर्सेनि काठेपुल बनाउनुपर्ने झन्झट रहेको स्मरण गर्दै झोलुङ्गे पुलले स्थायित्व दिएको बताए ।
महाकाली नदीमाथि नेपाल-भारत जोड्ने पुल निर्माणका लागि पनि सरकारले पहल गर्नुपर्ने उनको माग छ । कार्यक्रममा सुरेन्द्र केसीले श्रमदानको यो अभियानलाई देशका अन्य भागमा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै साम्पाङले यो पुल कुनै दल वा व्यक्तिको मात्र नभई श्रमदाताहरूको पसिनाको प्रतिफल भएको बताए ।
जनताको आवश्यकता सम्बोधन गर्न श्रमदानको संस्कृतिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिँदै उनले सहयोगी सबैलाई धन्यवाद दिए ।