कञ्चनपुर । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ ।
गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारी बिहीबार कारागार चलान भएका हुन् ।
भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को १५५ बमोजिम रकम लिई कैद मिलान गरिपाउँ भन्दै जिल्ला अदालतमा कानुन व्यवसायीमार्फत निवेदन दिएका थिए । तर न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले मागबमोजिमको आदेश दिन अस्वीकार गरेपछि भण्डारी कारागार चलान भएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।
उनकाअनुसार उक्त व्यवस्था पहिलोपटक कैद सजाय तोकिएका प्रतिवादीको हकमा मात्र लागू हुने भएकाले भण्डारी यसअघि पनि कैद सजाय भइसकेका व्यक्ति भएकाले सुविधा नपाएका हुन् ।पछिल्लो पटक निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग जोडिएको विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपित अहिलेसम्म पहिचान हुनसकेको छैन ।