काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट बरामद सुनचाँदीका गहनाको मूल्य करिब ८१ लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारका अनुसार बरामद गरिएका सुन तथा चाँदीका गरगहनाको बजार मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ निर्धारण गरिएको छ। प्रहरीका अनुसार जुत्ता, पाइन्ट, साडीलगायत कपडा रहेको विवरण उल्लेख गरिएको कार्गो बाकसभित्रबाट सुनचाँदीका गरगहना फेला परेका थिए। उक्त कार्गो १६ असार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अमेरिका पठाउने तयारीमा थियो।
घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र बौद्धस्थित युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त कार्गोले भन्सार जाँच प्रक्रिया पूरा गरिसकेको थियो। तर, भन्सार पास भइसकेपछि गरिएको एक्स–रे परीक्षणका क्रममा शंकास्पद वस्तु देखिएपछि थप जाँच गर्दा सुनचाँदीका गरगहना बरामद भएका हुन्। प्रहरी स्रोतका अनुसार कार्गोमा उल्लेख गरिएका सामानका धनी भनिएका व्यक्ति भने घटनाअघि नै अमेरिका पुगिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।