काठमाडौँ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले गोताखोरसहितको विशेष टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुर्खेतस्थित नं. ६ महेश्वरी बाहिनी मुख्यालयबाट बिहीबार दिउँसो साढे १ बजे ६ जना गोताखोरसहितको टोली घटनास्थलतर्फ पठाइएको हो। सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको मालवाहक गाडी सडकबाट करिब ६ देखि ७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। बिहीबार बिहान करिब साढे ११ बजे दुर्घटनाको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। खोज तथा उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बेपत्ता गाडी तथा अन्य यात्रुको खोजी कार्य भने अझै जारी रहेको छ।