काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास अथवा कूटनीतिक नियोग स्थापना गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतको बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा कार्यरत बझाङको केदारस्युँ गाउँपालिका–४ का विजयराज भट्टको कुटपिटपछि मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरे। उनले दिवंगत भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे।
सांसद महरले उक्त घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कूटनीतिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार मृतक भट्टको शव हाल बैंगलोरको सूर्य सिटी प्रहरी कार्यालयको जिम्मामा रहेको छ। उनले दक्षिण भारतका विभिन्न राज्यमा करिब २० लाख नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा विभिन्न पेशामा आबद्ध नागरिक बसोबास गरिरहेको उल्लेख गर्दै उनीहरूले राहदानी, नागरिकता, श्रमसम्बन्धी विवाद, कानुनी सहायता, उद्धार, मृत्यु तथा दुर्घटनापछिको व्यवस्थापनलगायत सरकारी सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको बताए।
यही अवस्थालाई ध्यानमा राख्दै बैंगलोरमा नेपाल सरकारको आधिकारिक महावाणिज्य दूतावास वा कूटनीतिक नियोग स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनका अनुसार यस्तो कदमले विदेशमा रहेका नेपालीलाई सहज सेवा उपलब्ध गराउनुका साथै उनीहरूको सुरक्षा र संरक्षणमा समेत प्रभावकारी भूमिका खेल्नेछ। सांसद महरले वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा नभई राष्ट्र निर्माणका साझेदार नागरिकका रूपमा सम्मान गर्नुपर्ने धारणा राखे।
उनले बैंगलोरमा नेपाली नियोग स्थापना गर्न आवश्यक कूटनीतिक, प्रशासनिक तथा नीतिगत प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरे। उनले राज्यको सेवा नागरिकको पहुँचमा पुग्नुपर्ने उल्लेख गर्दै सामान्य सरकारी सेवा लिनकै लागि हजारौं किलोमिटर यात्रा गर्नुपर्ने अवस्था उपयुक्त नभएको बताए। साथै, जहाँ नेपालीको उल्लेख्य उपस्थिति छ, त्यहाँ नेपाल सरकारको आधिकारिक उपस्थितिसमेत सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए।