काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ मा समावेश गरिएका केही शब्दावली र व्यवस्थालाई थप स्पष्ट तथा व्यवहारिक बनाउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि भएको छलफलका क्रममा मन्त्री पुनले प्रयोगशालाको संरचना, शाखा विस्तार र कानुनी प्रावधानलाई कार्यान्वयनयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखे। उनले चालु आर्थिक वर्षभित्रै कम्तीमा दुई प्रदेशमा आधुनिक उपकरणसहित सुविधा सम्पन्न विधि विज्ञान प्रयोगशालाका शाखा स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदेशस्तरमा सक्षम पूर्वाधारसहितका प्रयोगशाला आवश्यक भए पनि शाखा स्थापना गर्दा स्थानीय तहसँग अनिवार्य परामर्श गर्ने व्यवस्था राखिए अनावश्यक जटिलता सिर्जना हुन सक्ने उनको भनाइ थियो। मन्त्री पुनले विधेयकमा प्रयोग गरिएको ‘विश्वसनीय’ शब्दप्रति पनि आपत्ति जनाउँदै प्रयोगशालाको प्रतिवेदन अदालतमा अन्तिम र कानुनी प्रमाणका रूपमा प्रयोग हुने भएकाले त्यसलाई केवल ‘विश्वसनीय’ भनेर मात्र परिभाषित गर्नु पर्याप्त नहुने बताए।
उनले भने, “यदि कसैले प्रतिवेदनमाथि विश्वास नगरे के गर्ने ? प्रयोगशालाबाट जारी हुने प्रतिवेदन कानुनअनुसार अन्तिम प्रमाण हुने भएकाले त्यसको कानुनी हैसियत स्पष्ट हुने व्यवस्था आवश्यक छ।” त्यसैगरी, ‘स्वायत्त’ शब्दको प्रयोगबारे पनि उनले पुनर्विचार गर्नुपर्ने धारणा राखे। नेपालका विश्वविद्यालयहरू कानुनतः स्वायत्त भनिए पनि आर्थिक रूपमा सरकारमै निर्भर रहेको उदाहरण दिँदै उनले सरकारी बजेटबाट सञ्चालन हुने राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्ण रूपमा स्वायत्त भन्न उपयुक्त नहुने बताए। उनका अनुसार सरकारले सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउने संस्थालाई ‘स्वायत्त’ भन्दा ‘स्वशासित’ भन्नु बढी व्यवहारिक हुन्छ। निजी क्षेत्रको लगानीमा सञ्चालन हुने फरेन्सिक प्रयोगशालालाई भने वास्तविक अर्थमा स्वायत्त संस्था भन्न सकिने उनले उल्लेख गरे। सरकारी स्रोतबाट सञ्चालन हुने संस्थामा ‘स्वायत्त’ शब्द प्रयोग गर्दा कानुनी र व्यवहारिक दुवै हिसाबले भ्रम उत्पन्न हुन सक्ने भन्दै मन्त्री पुनले विधेयकको भाषा थप स्पष्ट, व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन सुझाव दिए। साथै, ‘स्वायत्त’ शब्द राख्नै पर्ने भए त्यसलाई छुट्टै दफामा नभई संस्थाको परिचयमै स्पष्ट रूपमा उल्लेख गर्न सकिने उनको धारणा थियो।