काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन्।
मन्त्रालयका अनुसार समितिलाई यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदन र सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना तयार गर्न जिम्मेवारी दिइएको छ। समितिले समस्या समाधानका सम्भावित उपाय, कार्यान्वयनको प्रक्रिया तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ। यस्तै, समितिलाई विगतका आयोगका प्रतिवेदनहरूको समीक्षा गर्दै आवश्यक देखिएमा नयाँ आयोग गठन गर्नुपर्ने आधार, त्यसको कार्यादेश (टीओआर) र आवश्यक सुझावसमेत तयार पार्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने क्रममा त्यहाँका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा व्यवस्थापन र पुनःस्थापनासम्बन्धी समस्या अझै समाधान हुन सकेको छैन। यही समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने उद्देश्यले अध्ययन समिति गठन गरिएको उनले बताइन्। समितिले पेश गर्ने प्रतिवेदनका आधारमा सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।