काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालबीच आगामी १० वर्षका लागि सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा दुवै पक्षले सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने सहकार्यको कार्यक्षेत्र स्कोप अफ कोअपरेसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार जैविक विविधताको संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरण संरक्षणका विभिन्न क्षेत्रमा मन्त्रालय र डब्लूडब्लूएफ नेपालले संयुक्त रूपमा काम गर्नेछन्। हस्ताक्षर कार्यक्रममा मन्त्रालयका प्रतिनिधि तथा डब्लूडब्लूएफ नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै पक्षले यस सहकार्यबाट आगामी दशकभर संरक्षण तथा वातावरणीय कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।