काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठनपछिको पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कार्यहरूको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले मन्त्रालयले सय दिनको अवधिमा हासिल गरेका उपलब्धि तथा कार्यसम्पादन समेटिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएकी हुन्। मन्त्रालयका अनुसार उक्त अवधिमा औद्योगिक विकास, आपूर्ति प्रणालीको सुधार, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता अधिकार संरक्षणका क्षेत्रमा नीतिगत र व्यावहारिक सुधारका विभिन्न काम अघि बढाइएको छ।प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री यादवले सरकारका प्राथमिकताअनुसार मन्त्रालयले छोटो अवधिमै परिणाममुखी काम सम्पन्न गरेको बताइन्।
आर्थिक गतिविधिलाई थप गतिशील बनाउने र नागरिकले सुशासनको अनुभूति गर्ने वातावरण सिर्जना गर्न मन्त्रालय केन्द्रित भएर काम गरेको उनको भनाइ थियो। प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रतिवेदनमा विभिन्न ऐन तथा नियम संशोधनका पहल, रुग्ण उद्योग पुनः सञ्चालनसम्बन्धी कार्ययोजना, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने प्रयासलगायतका विषय समेटिएका छन्। मन्त्रालयले सय दिनको कार्यसम्पादनलाई आधार बनाएर आगामी दिनमा पनि आफ्नो कार्यक्षमता थप सुदृढ गर्दै निर्धारित लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ।