काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए। मनिखबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–साउदी अरेबिया सम्बन्ध, संसदीय सहकार्य, श्रम, लगानी, पर्यटन तथा आर्थिक साझेदारीका विषयमा विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले नेपालका सङ्घीय संसद र साउदी अरेबियाको शुरा काउन्सिलबीच संस्थागत तथा रचनात्मक सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए। उनले हालै सङ्घीय संसदको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै यसले दुवै देशका संसदबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। अर्यालले श्रम आप्रवासको क्षेत्रमा नेपाल र साउदी अरेबियाबीचको सहकार्य सुदृढ बन्दै गएको उल्लेख गर्दै साउदी अरेबिया नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुकमध्ये एक रहेको बताए।
उनले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिँदै उक्त अवसरलाई दुवै देशबीचको मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउने अवसरका रूपमा उपयोग गरिने धारणा राखे। सभामुख अर्यालले पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, पर्यटन, कृषि तथा खानीजस्ता प्राथमिकताका क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी र सहकार्यको अपेक्षा पनि व्यक्त गरे। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यका कारण साउदी नागरिकका लागि नेपाल आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।
जवाफमा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई साउदी अरेबियाले उच्च महत्व दिएको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तार गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताए। नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजारभन्दा बढी नेपाली रोजगारीका सिलसिलामा कार्यरत छन्।