काठमाडौँ । मानसिक अस्पताल, लगनखेलले बिरामीको सुविधालाई ध्यानमा राख्दै अनलाइनमार्फत ओपीडी टिकट लिने व्यवस्था सुरु गरेको छ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं। ३२ कार्यान्वयन गर्दै अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो। त्यसलगत्तै अस्पतालले अनलाइन टिकट प्रणाली लागू गरेको जनाएको छ। अब सेवाग्राहीले अस्पतालको आधिकारिक वेबसाइटमार्फत घरमै बसेर ओपीडी टिकट लिन सक्नेछन्। यस व्यवस्थाले टिकटका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।
अस्पतालका अनुसार अनलाइन टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क पनि भुक्तानी गर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई थप छिटो, सहज र पारदर्शी बनाउने विश्वास गरिएको छ। सार्वजनिक बिदाबाहेक अन्य दिन अस्पतालको ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। अनलाइन टिकट लिएका बिरामीलाई भने बिहानको सेवाका लागि ९ः३० देखि १२ः३० बजेसम्म र दिउँसोको सेवाका लागि २ः३० देखि ४ः३० बजेसम्म अस्पतालमा उपस्थित हुन आग्रह गरिएको छ।