काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटनलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डअन्तर्गत सचिवालय वा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।
बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले आरोग्य पर्यटनको कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति करारमार्फत नियुक्त गरिने जानकारी दिए। मन्त्री पौडेलका अनुसार आवश्यकताअनुसार पाँचदेखि १० वर्षसम्मका लागि करारमा कर्मचारी नियुक्त गरी सचिवालय सञ्चालन गर्ने योजना बनाइएको छ। यसबाट आरोग्य पर्यटनसम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने उनको भनाइ थियो।
उनले आरोग्य पर्यटनको विकासमा अनुसन्धानकर्ता, विद्यार्थी, योग तथा ध्यानका प्रशिक्षक र अभ्यासकर्तालाई पनि सहभागी गराउने योजना रहेको बताए। साथै, नेपालको मौलिक खानपान, आरोग्य खेती प्रणाली, परम्परागत भेषभूषा र जीवनशैलीसँग सम्बन्धित विषयहरूको सूची तयार गरी पर्यटनसँग जोडिने जानकारी दिए। मन्त्री पौडेलले नेपालको मौलिक उत्पादन र परम्परागत अभ्यासलाई पर्यटनको आकर्षणका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। माटोका भाँडा बनाउने, धान रोप्ने लगायतका परम्परागत गतिविधिलाई पनि आरोग्य पर्यटनको हिस्सा बनाउन सकिने उनले उल्लेख गरे। उनका अनुसार आरोग्य पर्यटनसम्बन्धी नीतिगत निर्णय गर्न समिति गठन भइसकेको छ भने अब सचिवालय स्थापना गरी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।