काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीहरू स्वयं उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयका क्रममा सांसदहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई रुलिङ गरेका हुन्। उनले सम्बन्धित सबै मन्त्रीलाई राष्ट्रिय सभा बैठकमा उपस्थित भई सांसदका जिज्ञासा र समसामयिक विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएका छन्। अध्यक्ष दाहालले भने, “राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले सदनमै उपस्थित भएर जवाफ दिनुपर्छ।” पछिल्लो समय राष्ट्रिय सभा सदस्यहरूले जनसरोकारसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका भए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त हुँदै आएको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा निर्देशन जारी गरेका हुन्।