काठमाडौँ । झापाको बाहुनडाँगी क्षेत्रका बासिन्दा विगत ४० वर्षदेखि जंगली हात्तीको आतंक झेल्दै आएका छन्। भारततर्फबाट हुलका हुल हात्ती गाउँमा प्रवेश गर्ने क्रम बढेपछि स्थानीयवासीको जनधनको सुरक्षाप्रति चिन्ता बढेको छ।
स्थानीयका अनुसार हात्तीले बर्सेनि खेतीबाली नष्ट गर्ने, घरमा क्षति पुर्याउने तथा मानिस र चौपायामाथि आक्रमण गर्ने गरेको छ। हालसम्म हात्तीको आक्रमणबाट ३१ जनाले ज्यान गुमाइसकेका छन्। तीमध्ये २९ जनाको विगतका वर्षमा र दुई जनाको यस वर्ष मृत्यु भएको हो। हात्तीको प्रवेश रोक्न यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिमी किनार हुँदै करिब १७।१४ किलोमिटर क्षेत्रमा सोलार फेन्सिङ तार जडान गरिएको थियो। तर हाल उक्त संरचना जीर्ण बन्दै गएपछि यसको प्रभावकारिता घटेको स्थानीयको गुनासो छ।
स्थानीय रमेश दाहालले जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए। उनका अनुसार बाली जोगाउन र जनधनको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक व्यवस्था गर्नुपर्छ। बाहुनडाँगी गाउँ विकास समितिका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीका अनुसार जिल्लामा द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरिएको छ। आवश्यक परे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा खटाइने गरेको उनले बताए। हात्तीको आतंकबाट स्थायी समाधानको माग गर्दै स्थानीयले कोशी प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री तथा जिल्ला प्रशासन कार्यालय झापामा समेत ज्ञापनपत्र बुझाइसकेका छन्। तर समस्या अझै समाधान हुन नसक्दा बाहुनडाँगीका बासिन्दा वर्षौंदेखि त्रासपूर्ण जीवन बिताउन बाध्य छन्।