काठमाडौं । यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ ।
नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिए ।
इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन ।
मूल्य समायोजनसँगै आजै विहान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भाडादर समायोजन गर्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक भएको भन्दै यसको कार्यान्वयन तत्काल गर्न आग्रह गरे ।