काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४२ वर्षीय वाङ्दी लामा, रामेछाप घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ३८ वर्षीय ललितबहादुर तामाङ, धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३४ वर्षीया सन्तोषी लामा, काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ बस्ने ४१ वर्षीय रामदास महर्जन तथा काठमाडौं महानगरपालिका–१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ, ललितबहादुर तामाङले कोसोभो पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ, सन्तोषी लामाले स्पेन पठाइदिने भन्दै एक जनाबाट १५ लाख रुपैयाँ, रामदास महर्जनले यूएई पठाइदिने भन्दै सात जनाबाट ४५ लाख रुपैयाँ र सरिब गिरीले क्यानडा पठाइदिने भन्दै एक जनाबाट २० लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरीले विभिन्न मितिमा काठमाडौँका अलग–अलग स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।