काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्।
काठमाडौँको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरे। यसैबीच, पार्टीले बुधबार नै पहिलो केन्द्रीय समिति बैठक बसाल्ने तयारी गरेको छ। बैठकमा मनोनयनमार्फत चयन गरिने ५१ जना केन्द्रीय सदस्यका विषयमा छलफल हुने जनाइएको छ। रास्वपाको सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।