काठमाडौँ। ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ। आयोजक रेडियो कान्तिपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
आयोजकका अनुसार यस वर्षको अवार्डमा १४ विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। साथै, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र ‘एक्स्ट्रिम इनर्जेटिक पर्फर्मर अफ द इयर’ अवार्ड पनि प्रदान गरिनेछ। कार्यक्रमलाई सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिनेछ, जहाँ जोन एण्ड द लोकल्स, दीपक बज्राचार्य, उज्जन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा तथा कर्मा सिंह लामालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ।
अवार्डअन्तर्गत उत्कृष्ट नवगायक र नवगायिका, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक–गायिका, उत्कृष्ट पार्श्व गायक–गायिका, उत्कृष्ट पप गायक–गायिका, उत्कृष्ट आधुनिक गायक–गायिका, उत्कृष्ट सांगीतिक समूह तथा उत्कृष्ट हिपहप तथा आर एन्ड बी कलाकारसहित विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ। गीत–संगीत र कला क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका एक व्यक्तित्वलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ। यस अवार्डसँग एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।
यसैगरी, श्रोताको मतका आधारमा प्रदान गरिने ‘पिपुल्स च्वाइस अवार्ड’ पनि कार्यक्रमको आकर्षण रहनेछ। यसका लागि सहभागीले ई–सेवामार्फत मतदान गर्न सक्नेछन्। सर्वाधिक मत प्राप्त गर्ने गीत र स्रष्टाले उक्त अवार्ड प्राप्त गर्नेछन्। आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतलाई आधार मानेर तीन सदस्यीय निर्णायक समितिले विभिन्न विधामा उत्कृष्ट पाँच–पाँच मनोनयन छनोट गरेको हो। कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले नेशनल म्युजिक अवार्ड नेपाली संगीत क्षेत्रका स्रष्टा र कलाकारलाई एउटै मञ्चमा जोड्ने साझा उत्सव भएको उल्लेख गर्दै यसले समग्र नेपाली संगीत उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा सयभन्दा बढी कलाकारको सहभागिता रहने जनाइएको छ।