काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा असार १७ गतेदेखि असोजको पहिलो सातासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट जारी जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यले जिप सफारी रोकिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बर्खायाममा निकुञ्जभित्रका कच्ची सडकहरू बिग्रने, साना खोला–खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई समेत ध्यानमा राखेर सफारी सेवा बन्द गर्न लागिएको हो।
यद्यपि, निकुञ्जभित्रको सेवा बन्द भए पनि मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी भने यथावत् रहने निकुञ्ज प्रशासनले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख आम्दानीको स्रोत मानिने जिप सफारी प्रत्येक वर्ष मध्य असारदेखि असोजको पहिलो सातासम्म नियमित रूपमा बन्द गरिँदै आएको छ। यस अवधिमा निकुञ्जभित्र प्रवेश गर्न नपाए पनि पर्यटकहरूले मध्यवर्ती क्षेत्रका सफारीमार्फत वन्यजन्तु अवलोकनको अवसर भने पाउनेछन्।