काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले ‘ब्याच ड्रप’ नियम खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरूले हालको परीक्षा प्रणाली विद्यार्थीमैत्री नभएको र यसले उनीहरूको शैक्षिक भविष्यमा नकारात्मक असर पारिरहेको भन्दै विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न मागसहितका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। ब्यानरमा ‘हाम्रो अध्ययन, हाम्रो अधिकार स् न्यायपूर्ण परीक्षा प्रणालीका लागि अत्याचार सहँदैनौँ’ तथा ‘चुप लाग्दैनौँ, अन्याय सहँदैनौँ, एकजुट होऔँ, परिवर्तन ल्याऔँ’ लगायतका नारा लेखिएका थिए।
विद्यार्थीहरूले अहिले लागू रहेको परीक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै निष्पक्ष, वैज्ञानिक र न्यायोचित बनाउनुपर्ने माग गरेका छन्। उनीहरूको मुख्य असन्तुष्टि ‘ब्याच ड्रप’ व्यवस्थाप्रति केन्द्रित छ। विद्यार्थीहरूका अनुसार कुनै परीक्षामा सामान्य अंकले अनुत्तीर्ण भए पनि पूरै शैक्षिक वर्ष वा आफ्नो ब्याच नै गुमाउनुपर्ने व्यवस्था अव्यावहारिक र अन्यायपूर्ण छ। यस्तो नियमले विद्यार्थीको अध्ययन, समय र मनोबलमा गम्भीर असर पर्ने भएकाले यसलाई तत्काल खारेज गर्नुपर्ने उनीहरूको माग छ।