काठमाडौँ । फिफा विश्वकपको माहोल चरममा पुगेसँगै विश्वभरका फुटबल समर्थकहरू राति अबेरसम्म खेल हेर्न व्यस्त छन्।
फरक समय क्षेत्रका कारण धेरै खेल नेपाली समयअनुसार राति वा बिहान हुने भएकाले दर्शकहरूले आफ्नो नियमित निद्रामा कटौती गर्नुपर्ने अवस्था देखिएको छ। तर निरन्तर रूपमा पर्याप्त निद्रा नलिँदा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। विज्ञहरूका अनुसार राति ढिलो हुने खेल हेर्नुअघि साँझतिर २० देखि ३० मिनेटको छोटो विश्राम वा ‘पावर न्याप’ लिन सकिन्छ। यसले शरीरलाई ताजगी दिनुका साथै रातभर जाग्राम बस्नुपर्ने अवस्था आए पनि थकान कम गर्न सहयोग पुर्याउँछ। तर धेरै बेर सुत्दा रातिको नियमित निद्रामा असर पर्न सक्ने भएकाले छोटो समयमै सीमित रहन सुझाव दिइएको छ।
खेल हेर्दा निद्रा भगाउन धेरैले कफी, चिया वा इनर्जी ड्रिंकको प्रयोग गर्ने गर्छन्। तर विज्ञहरूका अनुसार खेल सुरु भएको प्रारम्भिक समयमा मात्र क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नु उपयुक्त हुन्छ। खेलको अन्त्यतिर यस्ता पेय सेवन गर्दा खेल सकिएपछि पनि निद्रा लाग्न समस्या हुन सक्छ। खानपानमा पनि विशेष ध्यान दिन आवश्यक रहेको विज्ञहरूको भनाइ छ। राति भारी, तेलयुक्त वा बोसोयुक्त परिकार खानुभन्दा हल्का र पोषणयुक्त खाजा रोज्नु राम्रो हुन्छ। फलफूल, दही, बदाम तथा होल ग्रेनयुक्त खाद्य पदार्थले शरीरलाई ऊर्जा दिनुका साथै पाचन प्रणालीमा कम असर पुर्याउँछन्।
खेल सकिएपछि तत्काल ओछ्यानमा गएर सुत्न खोज्नुभन्दा शरीरलाई शान्त बनाउने गतिविधि गर्नु लाभदायक मानिन्छ। हल्का व्यायाम, स्ट्रेचिङ, पुस्तक अध्ययन वा मधुर संगीत सुन्ने जस्ता अभ्यासले शरीर र मस्तिष्कलाई आरामदायी अवस्थामा ल्याउन मद्दत गर्छ। त्यसैगरी, खेलपछि सामाजिक सञ्जालमा लामो समय बिताउने, हाइलाइट्स हेर्ने वा विभिन्न प्रतिक्रिया पढ्ने बानीले पनि निद्रामा नकारात्मक प्रभाव पार्न सक्छ। मोबाइल, ट्याबलेट वा अन्य स्क्रिनको प्रयोग सकेसम्म कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। स्वास्थ्यविद्हरूका अनुसार विश्वकपको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि पर्याप्त निद्रा, सन्तुलित खानपान र स्वस्थ दिनचर्यालाई बेवास्ता गर्नु हुँदैन। खेलको आनन्द लिँदै स्वास्थ्यको पनि उत्तिकै ख्याल राख्न उनीहरूको आग्रह छ।