काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा नवप्रवेशी जोर्डन राष्ट्रिय फुटबल टोली अल्जेरियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा जोर्डन २–१ ले पराजित भयो। खेलको ३६औँ मिनेटमा निजार अल रशदानको गोलमार्फत जोर्डनले अग्रता लिएको थियो। तर, अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा अल्जेरियाले खेल उल्ट्यायो। ६९औँ मिनेटमा रियाद महरेजको पासमा नाधीर बेनबोउलीले बराबरी गोल गरे भने ८२औँ मिनेटमा अमाइन गौइरीले निर्णायक गोल गर्दै अल्जेरियालाई जित दिलाए। यस नतिजासँगै समूह ‘जे’ मा जोर्डन अंकविहीन हुँदै बाहिरिएको छ। समूहमा साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ भने अल्जेरियाले नकआउट चरणको सम्भावना जिवितै राखेको छ।