काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सले इराकमाथि प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। साविक उपविजेता फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।
खेलको सुरुआतदेखि नै दबाबमा राखेको फ्रान्सले १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफ समाप्त भएपछि परेको भारी वर्षाका कारण खेल करिब दुई घण्टासम्म रोक्नुपरेको थियो। खेल पुनः सञ्चालन भएपछि पनि फ्रान्सको आक्रमण रोकिएन। ५४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए।
त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो। खेलभरि बल नियन्त्रण र अवसर सिर्जनामा फ्रान्स हाबी रह्यो। इराकले भने केही अवसर बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। यसअघि समूह चरणको पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको फ्रान्सले लगातार दोस्रो जितसँगै नकआउट चरणको यात्रा तय गरेको छ। उत्कृष्ट लयमा रहेको फ्रान्स उपाधि दाबेदारीलाई थप बलियो बनाउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।